तराईका विभिन्न जिल्लाबाट सलह (फट्याङग्रा) भित्रिएको छ । यो किरा शनिबार बिहानै नेपाल प्रवेश गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भैरहवा, पर्सा, बारा, सर्लाहीका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेको हो । कृषि मन्त्रालयको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईका अनुसार दक्षिणतर्फबाट उत्तरतर्फ बगेको हावाको बेगले सलहको बथानलाई नेपाल भित्राएको हो । बाली नष्ट गरेर अनिकाल निम्त्याउने किराको रुपमा चिनिएको सलह अध्ययन गर्न काम भइरहेको मन्त्रालयले जनाएको छ । यसअघि सलह नेपाल नभित्रिने दावी गर्दै आएको कृषि मन्त्रालयले सलह भित्रिएपछि समस्या समाधानका लागि बैठकसमेत बोलाएको छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)अनुसार एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झण्डै चारदेखि आठ करोड फट्याङग्रा हुन्छन् । एक दिनमा फट्याङग्राहरु करिब १३० किलोमिटरसम्म बथान बनाएर हिड्न सक्छन् । फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिनसक्छ । यो एक दिनमा ५ सय किलोमिटरसम्म बथानमै उठान भर्छ र आफ्नो गन्तव्यमा पुगेर जमिनमा और्लन्छ ।
नेपाल भित्रिएका सलहका बथान सोमबारबाट क्रमशः पश्चिमतिर सर्दै जाने पूर्वानुमान गरिएको छ । हावा जता बहन्छ, सलह किरा पनि त्यतैतिर उडेर जाने भएकाले सोमबारदेखि नै सलह किराहरु पश्चिमतिर सर्दै जाने अनुमान गरिएको हो ।
मौसमविद प्रतिभा मानन्धरले भनिन्, ‘सोमबारबाट अझ आज रातिबाट नै पूर्वतिरबाट हावा पश्चिमतर्फ बहने देखिएको छ । पूर्वबाट पश्चिम हावा बग्न थालेपछि सलह पनि हावासँगै उड्ने किरा भएकाले सलहको यात्रा पनि पश्चिमतिर हुने सम्भावना बढी छ ।’
केही दिनयता दक्षिणतिरबाट हावा बगेको छ । त्यसैले भारतको उत्तर प्रदेशका जिल्लातिरबाट सलह नेपालसम्म आइपुगेको अनुमान छ । मौसमविद मानन्धरका अनुसार आइतबार पनि हावाको दिशा दक्षिण–दक्षिण पश्चिम छ । जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३० देखि ४० किलोमिटर प्रतिघण्टा छ ।
सोमबार र मंगलबार भने पूर्वबाट हावाको बहाव पश्चिमतिर बढी हुने मौसमविद मानन्धरको भनाइ छ । सो दिन जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने छ ।
मंगलबार पनि पूर्वी दिशाबाट पश्चिमतिर हावा बहने छ । सो दिन पनि जमिनको सतहभन्दा १० मिटर माथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टाको हुने छ । त्यसैले हावासँगै सलहका बथान पनि पश्चिमतिर सर्ने अनुमान गरिएको हो ।
उष्ण वातावरण मन पराउने सलह किरा मनसुन सक्रिय भएको बेला शनिबार नेपालमा भित्रिएको छ । भारत हुँदै तराई मधेशका जिल्लामा प्रवेश गरेका सलह भित्री मधेश हुँदै पहाडी जिल्लाहरुमा समेत फैलिएका छन् । यिनले पु¥याएको क्षतिको एकीन विवरण भने सार्वजनिक भइसकेको छैन । यी सलहका बथानले बालीनाली खाइदिएर कति क्षति पुर्याउने हुन् एकीनका साथ भन्न सक्ने अवस्था छैन । यद्यपि हावाको दिशा र गतिका आधारमा सलहको यात्रा एकिन गरी सतर्कताका उपाय भने अपनाउन सकिने जानकारहरु बताउँछन् ।